Pages

शिक्षक सेवा आयोगका कारण नौ दिन तनाव

२०७९ कार्तिक २ गते शिक्षक सेवा आयोगमा मावि सामाजिक विषयको अन्तर्वार्ता दिएर आएपछि नतिजा प्रकाशन कहिले र कतिबेला हुन्छ भन्दै छिनछिनमा tsc को website visit गरिरहन मन लागिरहन्थ्यो । अनिवार्य विषयतर्फ लगभग सबैको नतिजा आइसक्दा पनि गण्डकी प्रदेशको सामाजिकको नतिजा प्रकाशित भएको थिएन । तिहार लागिसकेको थियो, कार्तिक ६ गतेको दिन विद्यालयमा मिस मेडमहरुले सरहरूलाई सेलरोटी खुवाएर तिहारको शुभकामना आदानप्रदान गर्ने कार्यक्रम आयोजना गर्नुभएको थियो । तर आफ्नो मन चाहिँ कतिबेला ५ बज्ला र रिजल्ट आउला भन्दै छिनछिनमा tsc को site हेर्नतिरै उत्सुक थियो ।

ठिक्क खाजा खाएर पनि सक्नु, रिजल्ट पनि निस्कनु, हतार हतार नतिजा फाइल डाउनलोड गरेर हेरें, अन्तरवार्ता दिन जाँदा सँगै एउटै बेडमा बसेको साथी दीपक तिवारीको नाम एक नंबरमा रहेछ तर मेरो नाम चाहिँ वैकल्पिकको एक नंबरमा रहेछ । साथीलाई फोन गरेर बधाई दिएँ, सहकर्मी शिक्षक साथीहरूलाई दिपावली तथा छठको शुभकामना दिएर म चाहिँ घर फर्कें । सफल भएका साथीहरूका लागि बधाईको ओइरो आउन थालिसकेको थियो, चिनेसम्मका साथीहरूलाई फेसबुक कमेन्टमा, म्यासेन्जरमा अनि फोनमा बधाई दिँदै थिएँ, तर आफ्नो नाम लिस्टमा नअटाउँदा मन अमिलो त हुने नै भयो ।

हाँसो ठट्टा गर्ने अनि साथीहरू सँग छिटै घुलमिल हुने स्वभावका कारण पनि हुनसक्छ, अन्तरवार्ताका क्रममा धेरै साथीहरूसँग चिनजान भएको थियो । फोन नं. पनि साटासाट भएको थियो । फोन लागेसम्मका साथीहरूलाई बधाई दिएँ । खुला र महिलामा २ जना महिलाको नाम निस्केको थियो, तर अन्तरवार्ताको रिजल्ट हुँदा त ३ जना महिलाको नाम देखियो । फोन वहाँलाई पनि गरें र बधाई पनि  दिएँ । तर लिखितमा खुलामा नामै ननिस्केको तर महिलामा मात्रै निस्केको उम्मेदवारको नाम खुलामा कसरी आयो? यदि वहाँको नाम महिलामा निस्केको भए मेरो नाम सफल उम्मेदवारको सूचीमा हुने थियो, आयोगले यो निर्णय त्रुटिपूर्ण  गर्‍यो जस्तो चाहिँ लाग्यो । तनाव भयो, विद्यालयका सहकर्मी शिक्षक मित्रहरू मर्दी हिमाल घुम्न जानुभयो, आफुलाई त्यो उत्साह पनि भएन, दिदी बहिनी नभएपनि पोहोर पोहोर दाजुभाई मिलेर टीका लगाइन्थ्यो, तिहार रमाइलो बनाइन्थ्यो, यो वर्ष केही जाँगर लागेन ।

कार्तिक ६ गते साँझपख मात्रै रिजल्ट भएको, ७ गतेदेखि १३ गतेसम्म तिहार र छठ बिदा थियो, आयोगमा फोन गर्दा सम्पर्क हुनै सकेन, सूचना अधिकारी सुरेश मरहठ्ठा सरको मोबाईल स्विच अफको स्विच अफ थियो । धेरैजना साथीहरूलाई फोन गरेँ, पालिका शिक्षा प्रमुख लगायत शिक्षा क्षेत्रका धेरै सर म्याडमहरूलाई फोन गरें, धेरैजनाको एउटै आवाज थियो, "आयोगले गरेको निर्णय त्रुटिपूर्ण छ, यो सच्चिनै पर्छ, किनकी लि.प. मा महिलामा मात्रै नाम निस्केको उम्मेदवारको खुलामा प्रतिस्पर्धा नै हुँदैन।"

मनमा झिनो आशा लिएर आयोगलाई निवेदन लेखेँ, अलि व्याकरण मिलेन कि जस्तो लाग्यो, अर्को लेखें, अलि कडा भयो कि जस्तो लाग्यो अलि नरम लेखें, तनावै तनावका बीच निवेदन लेखें । नतिजा सँग सम्वन्धित प्रमाणहरू जुटाएँ अनि फाइल तयार गरेर १३ गते नाइट बसमा काठमाडौं जाने र १४ गते आफिस खुल्नासाथ  शिक्षक सेवा आयोगमा पुगेर "निर्णय सच्याई पाऊँ" भनी निवेदन दिने योजना बनाएँ । दशैंमा बुझेको तलबले उधारो तिर्दा, दशैं तिहार मनाउँदा (देउसीलाई दान गर्दा), अन्तरवार्ता दिन जाँदा ४ दिन काठमाडौं बस्दा लगभग सकिई सकेको थियो, सापटी लिएर १३ गते पोखरा बसपार्कमा पुगेँ तर गाडी सबै प्याक, काउन्टरमा ३ घन्टा बस्दा पनि टिकट नपाएपछि भोलिपल्ट बिहानै जाने निर्णयमा पुगें, प्लेनमा जाने हैसियत थिएन। उसै त तनावग्रस्त भएको बेला झन् समयमा आयोगमा पुग्न नसकिने अर्को तनाव थपियो । रिजल्ट भएको यतिका दिनसम्म किन नतात्नु भएको, आयोगमा खबर किन नगर्नुभएको भनेर साथीहरूको जिज्ञासा निरन्तर आइरहेको थियो ।

१४ गते बिहान पनि बल्लतल्ल साढे आठ बजेको माइक्रोबस भेटाएँ, मनमा आशा, उत्साह बोकेर काठमाडौंको लागि छुटेँ ।  साथीहरूसँग निरन्तर सम्पर्कमा थिएँ, शिक्षक साथी तथा इष्टमित्रहरूले बडो चिन्ता र चासो लिइरहनुभएको थियो । म काठमाडौं जाँदैगर्दा आयोगमा सम्पर्क गरेर जिज्ञासा राखिसक्नुभएछ, आयोगले त्रुटी स्विकार्दै निर्णय सच्याउने आश्वासन दिएको रहेछ । ठाउँ ठाउँको जाम झेल्दै साँझ करिब साढे ५ बजे काठमाडौं बसपार्कमा ओर्लने बित्तिकै सहकर्मी मित्र दीपक पोखरेल सरले फोन गरेर बधाई दिनुभयो । म छक्क पर्दै सोधें, "किन सर? के भयो र?" "आयोगले निर्णय सच्यायो सर, हजुरको नाम निस्कियो!", वहाँले भन्नुभयो । वेबसाईट चेक गरें, हो रहेछ। शिक्षक सेवा आयोगको त्रुटिपूर्ण निर्णयका कारण भोग्नुपरेको नौदिनको तनाव काठमाडौं बसपार्कमा उत्रदैगर्दा उत्साहमा परिवर्तन भयो, मलाई पनि बधाईका फोन र म्यासेजहरू आउन लागे, तर एकजना साथीकाे नाम महिलातर्फ सफल उम्मेदवारको सूचीमा यसअघि प्रकाशित भएकोमा अहिले वैकल्पिक सूचीमा परेको देख्दा चाहिँ नरमाइलो लाग्यो, गल्ती आयाेगकाे हाे, सहानुभूती बाहेक के नै दिन सकेँ र...

कक्षा नर्सरी देखि कक्षा ८ सम्मको ग्रेडसिट मेकर

 

 यो ग्रेडसिट मेकर नयाँ ग्रेडिङ सिस्टम अनुसार तयार गरिएकोले सबै विद्यालयहरुले प्रयोग गर्न सक्नुहुनेछ भन्ने आशा लिएको छु । यो ग्रेडसिट मेकरमा कुनै समस्या आएमा वा कुनै सल्लाह सुझाव दिन मन लागेमा कमेन्ट गर्नुहोला । ग्रेडसिट निर्माणका लागि एक्सेल फाइल डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

Username : school

Password : utsukchannel

 

निर्वाचन आयोगले दिनुपर्छ यी प्रश्नको जवाफ !

 


आवधिक निर्वाचन लोकतान्त्रिक अभ्यासको सुन्दर पक्ष हो । तर वास्तवमै निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचन हुने हो र जनताले निर्भीकरुपमा आफ्नो मत जाहेर गर्न पाउने अवस्था सृजना हुने हो भने मात्र । यदि धाक-धम्की, प्रलोभन, बलमिच्याईं गरि "जसरी पनि" चुनावी परिणाम आफ्नो पक्षमा पार्ने निर्वाचन "राजनीतिक फोहोरी खेल" बाहेक केही हुन सक्दैन । निर्वाचनको बेला मतदान स्थलकारुपमा प्रयोग गरिने भनेको शिक्षकको कार्यक्षेत्र अर्थात् विद्यालय हुन् र सबैभन्दा हेपिने वर्ग भनेका शिक्षक हुन् । निर्वाचनका बेला विद्यालयको पठनपाठन बन्द गर्न लगाइन्छ अनि विद्यालय भवनमा प्रशासन र स्वास्थ्यका कर्मचारीको "राज" चल्छ । निर्वाचनमा स्वास्थ्यकर्मी किन प्रयोग गर्ने? के निर्वाचनको बेला जनतालाई स्वास्थ्य सुविधा नै चाहिँदैन? यदि स्वास्थ्यकर्मीले निर्वाचन चलाउने हो भने मतदान केन्द्र पनि स्वास्थ्य संस्थामै तोके हुँदैन? कलिला बालबालिकाले शिक्षा आर्जन गर्ने पवित्र स्थलमा फोहोरी राजनीति घुसाएर निर्वाचन आयोगले गम्भीर आचारसंहिता उल्लंघन गरेको छ । म एउटा शिक्षकको नाताले प्रमुख निर्वाचन आयुक्तलाई स्पष्टीकरण सोध्न चाहन्छु, "विद्यालय शान्ति क्षेत्र हुन्, आयोगले मतदानकेन्द्र तोकेका कारण कतिपय विद्यालय अशान्ति क्षेत्र बनेका छन्, यसमा आयोगले आचारसंहिता उल्लंघन गरेको ठहर्छ कि ठहर्दैन?" "आयोगले मतदान केन्द्र तोकेका कतिपय विद्यालयमा झडप भएका कारण भौतिक क्षती हुनुका साथै कलिलो बाल मस्तिष्कमा गम्भीर असर परेको छ, त्यसको क्षतिपूर्ति निर्वाचन आयोगबाट किन नभराउने?" "शिक्षा आर्जन गर्ने पवित्र स्थानलाई कतिपय स्थानमा रणभूमी बनाईएको छ, यसको जिम्मा निर्वाचन आयोगले किन नलिने?" "निर्वाचनको दिन बाहेक अन्य दिन समेत विद्यालयको पठनपाठन ठप्प पारेर आयोगले शिक्षकको दैनिकी र विद्यार्थीको मानसिकता एवं शैक्षिक वातावरणमा गम्भीर असर पारेको छ, त्यसको क्षतिपूर्ति आयोगले किन नभर्ने?" यदि विद्यालयलाई मतदान केन्द्रको रुपमा प्रयोग गर्ने हो भने निर्वाचन अधिकृत र अन्य कर्मचारीको रुपमा समेत शिक्षकलाई नै खटाउने व्यवस्था गरिनुपर्छ । यदि मिल्दैन भने किन नमिल्ने हो, निर्वाचन आयोगले स्पष्टीकरण दिनु जरुरी छ । के शिक्षकहरूमा त्यो योग्यता पुग्दैन? के शिक्षकहरूसँग त्यो क्षमता छैन? कि आयोगले शिक्षकलाई दोश्रो दर्जाको नागरीक मान्छ? आयोगले स्पष्टीकरण दिनु जरुरी ठान्छ कि ठान्दैन? आयोग मात्रै हैन, शिक्षक महासंघ पनि यस बारेमा गम्भीर हुनु जरुरी छ । शिक्षकका हकहितको वकालत गर्ने महासंघ यस बारेमा किन मौन छ? म्यादीले स्कुलका भित्तामा गरेको फोहोरका टाटा आयोगका कर्मचारीले सफा गर्नु पर्ने कि नपर्ने ? शिक्षकको काम "पढाउने" मात्रै हो भने निर्वाचनको दिन पनि "पढाउन" तयार छौँ, तर आत्मसम्मानमा चोट पुर्याएकोमा निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको ठहर्छ कि ठहर्दैन? निर्वाचन आयोगलाई निर्वाचनका लागि विद्यालय भवन प्रयोग गर्न दिन विद्यालय किन बाध्य हुने ? स्पष्टीकरण दिन जरुरी छ कि छैन ? यदि छ भने  ४८ घण्टा भित्र आफैं उपस्थित भएर, प्रतिनिधिमार्फत् वा सार्वजनिक संचार माध्यमबाट स्पष्टीकरण दिनुहोला ।

शिक्षक सेवा तयारी नोट नि:शुल्क अफर

 यदि तपाईं शिक्षक सेवा आयोग / शिक्षक लाइसेन्सको तयारी गर्दै हुनुहुन्छ भने तपाईंको लागि खुशिको खबर छ । हामी तपाईंलाई नेपालका विभिन्न विज्ञ शिक्षकहरूले पढाएका नोटहरू नि:शुल्क पठाउनेछौं । त्यसका लागि तपाईंले एक रुपैयाँ पनि शुल्क तिर्नुपर्ने छैन । तलको लिन्कमा क्लिक गर्नुहोस् ।


डाउनलोड पेजमा जान यहाँ क्लिक गर्नुहोस् ।