Pages

Showing posts with label Picture. Show all posts
Showing posts with label Picture. Show all posts

फेसबुकमा फोटो राखेर ठूलो गल्ती भयो, धेरै पछुतो लाग्यो ।

आजकल इन्टरनेटको अर्को नाम नै फेसबुक जस्तो भइसकेको छ । जो कसैले पनि सहज रुपमा पहुँच राख्ने फेसबुकमा आफ्ना वा आफूले खिचेका तस्विरहरू अपलोड गर्ने र शेयर गर्ने काम सामान्य नै भइसक्यो । मानिसहरू राम्रो फोटो खिचेपछि फेसबुकमा पोस्ट गर्न आतुर देखिन्छन् । तर मलाई भने फेसबुकमा फोटो अपलोड गरेकोमा धेरै ठूलो पछुतो लागेको छ । हजुरहरूलाई खुल्दुली हुनु स्वभाविकै हो, हैन, फेसबुकमा फोटो अपलोड गर्दैमा किन पछुताउनु - तर मैले फेसबुकलाई विश्वास गरेर ठूलै गल्ती गरेछु । फेसबुकमा फोटो राखेपनि त्यसको ब्यकअप आफ्नो पर्सनल ड्राइभमा नराख्नु नै मेरो भूल भयो । जसले गर्दा मेरा ती सयौँ फोटोहरूको क्वालिटि मैले गुमाइसकेको छु । फेसबुकले फोटो अपलोड गर्न त दियो तर त्यसले प्रयोगकर्ताका फोटोको रिजुलेसन हृवात्तै घटाएर क्वालिटि खत्तम पारिदियो । शुरु शुरुमा मलाई त्यसको हेक्का नै भएन, तर जब मैले त्यो महशुस गरेँ, धेरै ढिलो भइसकेको थियो र मैले आफ्ना सयौँ गुणस्तरिय फोटाहरू गुमाइसकेको थिएँ ।

निखिल उप्रेतीको नक्कल गर्दा झण्डै गएन ज्यान....

निखिल उप्रेती नेपाली चलचित्रमा स्टन्ट लिएर आएका नायक हुन् । उनको पहिलो चलचित्र पिँजडा हेर्दा म सानैँ थिएँ, तरपनि त्यो चलचित्र हेरेदेखि नै म उनको फ्यान बनेको हुँ । त्यसपछि त उनका चलचित्रहरु नियमित जस्तै हेर्न थालेँ । उनको जस्तै स्टाइलमा अभिनय गर्न पाए... त्यसैगरि उडि उडि किक हान्न पाए... भन्ने लागिरहन्थ्यो । उनि त हिरो, जे पनि गर्न सक्छन् तर म बबुरो... जस्तो लाग्थ्यो । कर्तव्य चलचित्रमा जस्तै लट्ठी घुमाउँछु भन्दा कतिपटक आफ्नै टाउकोमा चोट लाग्यो, मायाको जाल चलचित्रमा जस्तै पुलमा हिँड्न खोजेँ, कहालिएर झण्डै खसिन । मलाई लाग्छ, नेपाली चलचित्रमा डरलाग्दा स्टन्ट भित्र्याउने नायक नै निखिल हुन् । म उनिजस्तो बन्न चाहेर पनि बन्न सक्ने कुरा त थिएन तरपनि कहिले काहिँ दिमागमा उनको जस्तै स्टन्ट गर्ने भूत सवार हुन्थ्यो । कुनै एउटा चलचित्रको दृश्यमा निखिलले आफ्नो शरीरमा आगो लगाएका थिए, त्यो देखेपछि मलाई पनि त्यस्तै गर्ने अनि फोटो खिच्ने जोश उठ्यो । त्यसबेला अहिले जस्तो डिजिटल क्यामेरा छ्याप्छ्याप्ती थिएन । रिल राख्ने क्यामेरा चाहिँ कताकति पाइन्थ्यो । क्यामेराको एउटा रिलमा ३५-३६ वटाजति फोटो खिच्न मिल्थ्यो र रिल सकिएपछि कलर ल्याबमा लगेर धुलाउनु पर्थ्यो । क्यामेरा, रिल र ब्याट्रीको जोहो गरेपछि एउटा पुरानो सिरकको खोल च्यातेर हातमा बाधेँ, अनि मटि्टतेल खन्याएर आगो लगाएँ । साथी रामप्रसाद भण्डारीलाई फोटो खिच्न भनेको थिएँ, तर आगो लगाउने बित्तिकै मेरो हातमा बाँधिएको कपडा ह्वारह्वार बल्न थाल्यो । हामी दुबैजना आत्तियौँ, आगोको ज्वालाले दारी र कपालमा चुरुरु आवाज आउन थालिसकेको थियो । तरपनि म चाहन्थेँ, फोटो खिचियोस् नत्र त्यो सब परिश्रम बेकार हुनेछ । मेरो हात पोल्न थालिसकेको थियो, साथीलाई "फोटो खिच्नुभयो ?" भनेर सोधेँ । वहाँले "खिचेँ " भन्नासाथ म आगो निभाउनका लागि बाल्टीनमा तयार पारेको पानीमा हत्त न पत्त हात डुबाउन खोजेँ तर एक्कासी हात तल लैजाँदा हावाको बेगले आगो मेरो अनुहारमा आयो । अलि अलि पोलेपनि त्यसले गम्भिर असर चाहिँ परेन । आगो निभेपछि झुम्रा फुकाएँ, हात चाहिँ बेस्सरी गुम्सीएको रहेछ । तनाव केहीदिन सम्म थियो, फोटो आयो कि आएन होला... यी, यस्तो आएको रहेछ फोटो ।

पोखरामा रेडलाइट एरिया !

पुस महिनाको चिसो मौसम साँझको बेला । पोखराको लेकसाइडमा चलिरहेको सडक महोत्सव हेर्न म साँझपख निस्केँ । दिउँसोभरी जागिरको तनाव र थकान पनि केहि दूर हुने अनि रिफ्रेस पनि भइने आशाले म निस्केँ । जानु त लेकसाइड थियो तर किन किन आज पोखराका मुख्य र भित्रिबजारहरु चक्कर लगाउन मन लाग्यो । त्यसकारण म काहुँखोला, बाँझापाटन, मियाँपाटन, अमरसिँह चोक, रामघाट, रानीपौवा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक (हालको लखनचोक), सभागृहचोक, सृजनाचोक, आलुमाइला, न्युरोड, चिप्लेढुंगा, गैह्रापाटन, पालिखेचोक, नदिपुर, फुलबारी, भिमकालीपाटन, ट्याक्सीचोक, बगर, सिम्पानी, हरिचोक, मिरुवा, अर्चलबोट, बाग्लुङ बसपार्क, फिर्के, पर्स्याङ, जिरो कि.मी., मासबार, गैरिखेत, सिमलचौर, रत्नचोक, एयरपोर्ट, मुस्ताङचोक, घारीपाटन, छोरेपाटन, बिरौटा (तमु हृयुला चोक), डेमसाइड, सहिदचोक हुँदै लेकसाइड पुगेँ । यति ठाउँहरु घुम्ने क्रममा मैले विविध किसिमका दृश्यहरु देखेँ, सबै दृश्यको फोटो खिचेर पनि साध्य भएन र शब्दमा वर्णन गरेर पनि साध्य भएन । कुनैकुनै चोकमा साँझको बेलामा म नेपालको शहरमा नभएर कुनै बिदेशी शहरमा त घुमिरेको त छैन भन्ने भान पनि हुन्थ्यो । कुनै स्थानहरु सम्साँझै सुनसान थिए भने कतै दोहोरी घन्किएको, कतै बिदेशी गीत घन्किएको सुनिन्थ्यो । जाडोको मौसम भएकोले कतै मज्जाले शिरदेखि पाउसम्म बाक्ला कपडा लगाएका मानिसहरु देखिन्थे भने कतै यिनिहरुको जाडो त बोकाले खान्छ कि भनेझैँ गरि अर्धनग्न नारीहरु पनि देखिन्थे । एउटा ठाउँमा राता बत्तीहरु मात्रै बलेको क्षेत्र रेडलाईट एरिया देखेँ अनि हत्त न पत्त मोबाइल झिकेर फोटो खिचेँ । अब यी फोटोहरु हेरेर हजुरले नै पत्ता लगाउनुहोस् पोखरामा रेडलाईट एरिया कहाँ रहेछ ।

विहे विन्ध्यवासिनीमा, छोरी मणिपालमा

एकजना साथीले मलाई सोध्नुभयो, "तपाईले बिहे कहाँबाट गर्नुभएको ?" मैले भनेँ, "विन्ध्यवासिनी मन्दिरबाट ।" वहाँले मलाई यसरी हेर्नुभयो कि त्यहाँबाट बिहे शायद गर्नु नै आठौँ आश्चर्य हो ।

विवाह भएको आज आठ वर्ष पूरा भएछ । यस बिचमा हामीलाई पुत्रीलाभ भयो । सोध्नुहुन्न ? "छोरी कहाँ पाएको ?" मणिपाल हस्पिटलमा ।

धम्पुस घुम्न जाँदा...

विगत वर्षहरूमा झैँ यस वर्ष पनि हामी श्री चण्डीका आधारभूत विद्यालयका शिक्षक शिक्षिकाहरू मिली कुनै नयाँ ठाउँको भ्रमण गर्ने योजना बनायौँ । कहिले जाने, कहाँ जाने भन्ने विषयमा आएका विभिन्न प्रस्तावहरूबीच आखिरमा छनौट भयो हाम्रो गन्तब्य धम्पुस २०७३ साउन २८ गतेको लागि ।

साउन २८, २०७३ ।
हामी धम्पुसको यात्रामा निस्कियौँ । यसैबिच हामीलाई पोखरा १३ चिसापानीमा अवस्थित श्री डिज्नी मन्टेश्वरी विद्यालयको अवलोकन भ्रमण गर्ने अवसर मिल्यो । विद्यालयको कुशल व्यवस्थापन, भौतिक सुविधा, सुन्दर सजावट देखेर हामी मोहित भयौँ ।




त्यसपछि हामी हेम्जा, सुइँखेत, फेदी, घट्टेखोला हुँदै धम्पुसको उकालोतिर बाटो ततायौँ । वर्षाको बेला, कच्ची बाटो, मोटरसाइकलको यात्रा... तरपनि हामी उत्साहित थियौँ । उकालोमा ट्याँट् ट्याँट् हर्न बजाउँदै हामी धम्पुस देउरालीमा पुगेर केहीबेर सुस्तायौँ । त्यहाँबाट चारैतिर देखिने मनमोहक दृश्यहरू हेर्दै खाजा खायौँ, तथापी हामीलाई मौसमले त्यति साथ दिएन ।
पृथ्वीनारायण मा.वि. का शिक्षक सम गुरुङ सरको Hotel Orchid मा पुगेपछी सरले हामीलाई मेड इन धम्पुस अर्ग्यानिक चिया बनाएर पिलाउनुभयो, त्यो चियाको चुस्कीसँगै सारा थकान चुट्कीमा गाएब भयो । फ्रेस भएपछि हामी गाउँ घुम्न निस्कियौँ ।

त्यसो त म ल्वाङघलेलमा जन्मे हुर्केको मान्छे, दक्षिणतिर आँखै अगाडी देखिने गाउँ हो धम्पुस । केही वर्ष पहिले त्यहाँ फागु पूणिर्मामा मेला लाग्दा दोहोरी गाउन समेत पुगेको गाउँ हो धम्पुस तरपनि धम्पुसलाई यतिबेला अझै नजिकबाट नियाल्ने मौका पाएँ मैले । रुप फेरेछ धम्पुसले, होटलै होटलको गाउँ भएछ धम्पुस । एकजना दिदिले लमजुङदेखि आएर धम्पुसमा होम स्टे खोल्नुभएको रहेछ, एकैछिन वहाँका कुरा सुन्यौँ, सल्युट गर्न मनलाग्यो वहाँको प्रकृत्रि्रेम, देशप्रेम अनि असिम उत्साहलाई । सुन्दर गाउँ, सुन्दर मान्छेहरु, सफा वातावरण... हामीलाई लोभ्यायो धम्पुसले । होटल अर्किडमा अति नै पारिवारिक वातावरणमा बेलुकाको खाना खाएपछि साथीहरूसँग केहीबेर रमाइलो गरि भोलीको सूर्योदय धम्पुसको निर्माणाधिन सनराइज भ्यू टावरबाट हेर्ने तथा अस्ट्रेलियन क्याम्पमा घुम्न जाने योजना बनाई सुत्यौँ ।
साउन २९, २०७३ ।
हामी सुन्दर स्थानबाट नयाँ दिनको सूर्योदय हेर्ने उत्सुकताका साथ निद्रादेवीको काखबाट जुरुक्क उठ्यौँ । तर विडम्बना, हामीलाई मौसमले साथ दिएन । एकाबिहानै बाक्लो कुहिरो डम्म भरिएर सूर्योदय त के, नजिकैको दृश्य पनि नदेखिने भयो । माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरी, मर्दिहिमाल, हिउँचुली नव बिहानीको सूर्यको किरणसँगै मुस्कुराएको हेर्ने योजना त्यो कुहिरोमै हरायो ।
तरपनि हामीले अस्ट्रेलियन क्याम्प पुग्ने योजनालाई चाहिँ स्थगित गरेनौँ । जस्तोसुकै मौसम भएपनि अस्ट्रेलियन क्याम्प पुगी छाड्ने निधो गरेर हामी बिहान सवा ६ बजेतिर धम्पुसबाट उकालो लाग्यौँ । बाटोमा देखिएका लाली गुराँस, चन्दनका बोटहरू हेर्दै हिँड्दा हाम्रा खुट्टामा जुकाले रजाई गरिसकेका हुन्थे, तरपनि हामी अगाडी बढिरह्यौँ । कहिले चौतारीमा थकाई मार्दै, कहिले चौरमा सेल्फी हान्दै हामी उकालो लाग्यौँ । जमान सर -हेडसर) का रमाइला कुरामा हाँस्दै हिँड्दा बाटो काटेको पनि पत्तै भएन । करिब साढे ७ बजेतिर हामी अस्ट्रेलियन क्याम्पमा पुग्यौँ ।
त्यहाँ पुगेर पूर्वतिर सुन्दर नगरी पोखरा, फेवाताल र आसपासका क्षेत्रहरू, दक्षिणतिर ढिकुरपोखरी र लुम्ले -काँडे), पश्चिमतिर हरियो मनमोहक जंगल र उत्तरतिर सुन्दर ल्वाङघलेल र रिभानको दृश्यावलोकन गर्‍यौँ, तर मोतीका लहरहरू चाहिँ किन हो कुन्नी घुम्टोबाट निस्कनै मानेनन् । करिब एक डेढ घन्टा हामी त्यहाँको वातावरणमा एकाकार भयौँ, त्यसपछि फेरी जंगलको बाटो धम्पुस गाउँतिरै रमाना भयौँ । बाटोमा यति रमणिय बतासे डाँडा रहेछन्, जसको बयान म शब्दमा गर्न सक्दिन, त्यहाँ सुस्ताउँदाको आनन्द लिन तपाई स्वयं त्यहिँ पुग्नुपर्छ ।
निर्माणाधिन भ्यू टावर धम्पुस
गाउँको माथी भ्यू टावर बन्दै रहेछ, कामदार दाजुहरूले छत सम्म पुग्न त दिनुभएन तैपनि २ तल्ला माथी सम्म भने उक्लिछाड्यौँ । चारैतिर ड्यम्मै लागेको कुहिरो "भ्यू" गरेर फर्कियौँ । फेरी उहि होटल अर्किडमा फर्कियौँ । म्याडमले मिठो खिर तयार गरेर हामीलाई पर्खिरहनु भएको रहेछ, खिर खाएपछि वहाँहरूसँग बिदाबारी भएर पोखराको लागि रमाना भयौँ ।
हाम्रो तन पोखरा तिर हुइँकिरहेको थियो, तर मन भने धम्पुसमै टाँसिएको थियो । त्यो सुन्दर धम्पुस, त्यो मनमोहक धम्पुस, त्यो र्स्वर्गको टुक्रा धम्पुस, कसैले भन्थे, नमरी स्वर्ग देखिन्न, हामीले जिउँदैमा देखेको स्वर्ग हो धम्पुस ।

इदका दिन आएको "सुल्तान"ले गर्‍यो नेपालीको विचल्ली

केही समय अगाडी भारतले नेपालमाथी नाकाबन्दी लगाउँदा नेपालमा रहेका नेपालीको जनजीवन अस्तव्यस्त भयोकेही समय अगाडी भारतले नेपालमाथी नाकाबन्दी लगाउँदा नेपालमा रहेका नेपालीको जनजीवन अस्तव्यस्त भयो, न पेट्रोल, न ग्याँस, न दैनिक उपभोग्य सामान.... सबैतिर हाहाकार भएको बेला पनि नेपालमा हिन्दी चलचित्र र भारतीय टेलिभिजन च्यानलहरु निर्वाध प्रसारण भइरहेका थिए । तथापि यदाकदा भारतीय चलचित्र र च्यानल बन्द गर्नुपर्छ भन्ने आवाज यदाकदा उठे । फलस्वरुप केही दिन हिन्दी च्यानलहरु बन्द समेत गरिए । नाका बन्द थियो तर मानिसहरुको आँखा चाहिँ खुलेको जस्तो लाग्थ्यो । नेपालीहरु खुब राष्ट्रबादी भएका थिए, यस्तो लाग्थ्यो, २।४ वर्ष नाकाबन्दी हुनेहो भने नेपालीहरु आत्मनिर्भर हुनेछन् अनि भारतले सदाका लागि नाकाबन्द गरेपनि फरक पर्नेछैन ।

तर अहिले परिस्थिति फेरिएको छ । नाकाबन्दी खुल्यो तर नेपालीहरुको बुद्दीको बिर्को भने बन्द भयो ।

विद्यालयमा स्वागत

कास्कीको कालिका गा वि स ९, काउरेमा अवस्थित श्री चण्डीका प्रा.वि. ले नवआगन्तुक विद्यार्थीहरुलाई विद्यालयमा स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।

प्यारोडी प्यासन

आजकल हरेक कुराको प्यारोडी बनाउने चलन आएको छ । गीत संगीतको प्यारोडी धेरै पहिलेदेखि नै बनाईदै आएको भएपनि हाल आएर म्युजिक भिडियोको प्यारोडी, चलचित्रका प्रोमोका प्यारोडी बनाउने एक प्रकारको लहर र कम्पीटिसन नै हुन्छ भन्दा फरक नपर्ला । विगतका वर्षरुमा चलेका गीतहरुमध्ये चलचित्र "रेशम फिलिलि"को पारी त्यो डाँडामा घाम लाग्यो घमाइलो लाग्यो मलाई रमाइलो तिमी र म घुम्न जाउँन... बोलको गीत र चलचित्र "वडा नम्बर ६" को सुर्के थैली खै... बोलको गीतका प्यारोडी म्युजिक भिडियो यति धेरै बने कि यु टुबमा कुन चाहिँ अफिसियल भिडियो हो र कुन चाहिँ प्यारोडी भन्ने छुट्याउन समेत कतिपय दर्शकलाई हम्मे हम्मे पर्‍यो । क्रम यतिमा मात्रै सिमित रहेन, चलचित्र कबड्डी कबड्डी र पशुपति प्रशादको प्रोमोहरुका पनि अत्याधिक प्यारोडी बनेका थिए । यसै सिलसिलामा एकजना मित्रले मेरो ब्लगको कभर इमेजको पनि प्यारोडी इमेज बनाइदिनुभएछ ।